हेटौंडा उपमहानगरक्षेत्र भित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको लागि भित्तामा चित्र कोर्न सुरु
४ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले उपमहानगरक्षेत्र भित्रका महत्वपुर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि भित्तामा चित्र कोर्न सुरु गरेको छ ।
चित्रकला मार्फत हेटौंडाको प्रचारप्रसार गर्ने उद्देश्यले पुर्वपश्चिम राजमार्ग, हेटोैंडा–१० स्थित नेपाल ट्रष्टको पर्खालमा चित्र कोर्न सुरु गरिएको हो । चित्रकला मार्फत् हेटौंडा नगरलाई सुन्दर बनाउने अभियान अनुसार विभिन्न वडामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचानलाई समेटेर चित्र कोर्न लागिएको उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले बताउनुभयो ।
एक सय वर्ष पुरानो चुरियामाई सुरुङ, चुरियामाई मन्दिर, भूटनदेवी मन्दिर पर्यटकीय स्थल गुम्बाडाँडा, मकवानपुरको पहिचान ठेकी लगायत पहिलो चरणमा १७ सय स्क्वार क्षेत्रमा १५ वटा चित्र कोरिने उपमहानगरले जनाएको छ । चित्र निर्माणको काममा उपमहानगरले ४ लाख ६८ हजार ३५३ रुपैंयामा ठेक्का लगाएर काम थालेको हो ।













