शिक्षा बिना विकासको कल्पना गर्न सकिंदैनः मुख्यमन्त्री लामा

मनिल महतो
१५ फाल्गुन २०८१, बिहीबार १७:१५

१५ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने बताउनुभएको छ ।
हेटौंडा १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले शिक्षा नै विकासको मेरुदण्ड भएको बताउनुभयो । गलत शिक्षाबाट देश र समाजको पनि विकास नहुने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले निजी विद्यालयहरुको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको जिकिर गर्नुभयो । निजी क्षेत्रका विद्यालयहरुले सामुदायिक विद्यालयहरुलाई ठुलो चुनौती थपेको समेत उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकार भित्र नपर्दा चाहे जति काम गर्न नसकेको बताउनुभयो । स्थानीय र संघ सरकारको जति संरचना प्रदेश सरकारसंग नभएको समेत मुख्यमन्त्री लामाले गुनासो गर्नुभयो । प्रदेश सरकारको एकल अधिकार अन्तर्गत रहेर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले केन्द्र र स्थानीय सरकारको संरचनामा टेकेर काम गर्नुपर्दा धेरै पापड बेल्नुपरेको समेत जिकिर गर्नुभयो ।


कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सीपल रघुनाथ खरालको सभाध्यक्षतामा भएको कार्यक्रममा ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*