लदी पर्वको अवसरमा माझी समुदायलाई सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

स्वर्णिम खबर
९ फाल्गुन २०८१, शुक्रबार १५:१०

९ फागुन, हेटौँडा । लदी पर्वको अवसरमा बागमती प्रदेश सरकारले माझी समुदायलाई सार्वजनिक बिदा दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायको लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश सरकारले २ कर्मचारीको पनि बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । संघीय सरकारबाट सरुवा भइ आएका सहसचिव उदय राना मगरलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा काम काजका लागि खटाउने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।
प्रदेशका सिनियर डिभिजनल इन्जिनियर नविन सिंहलाई ११ औं तह (सचिव)मा बढुवा गर्ने निर्णय समेत बैठकले गरेको हो । पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिव स्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११ औं तहमा बढुवा गर्ने निर्णय भएको हो । बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय समेत भएको प्रवक्ता लामिछानेले बताउनुभयो ।
उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधी र तालिम संचालन सम्बन्धी कार्यविधि २०८१ लाई समेत बैठकले स्वीकृत गरेको छ । त्यस्तै वन डढेलो सम्बन्धमा अष्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत दिने निर्णय गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*