घोषणाभन्दा पनि दिगोपनमा गम्भीर बन्न उपप्रधानमन्त्री सिंहको आग्रह

मनिल महतो
१ फाल्गुन २०८१, बिहीबार १६:४५

१ फागुन, हेटौँडा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहहरुले समस्या र चुनौतीलाई संही ढंगले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
नागरिकहरुको माग अनुसार विकास निर्माणका कार्यहरु गर्नुपर्ने आजको आवश्यकता भएको उहाँको भनाई छ । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा गर्न आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले स्थानीय तहका सम्भावनाहरूको पहिचान गरी विकास आयोजनाहरू व्यवस्थित ढंगबाट परिचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका पनि अपरिहार्य रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घोषणाभन्दा पनि दिगोपनमा गम्भीर बन्न आग्रह गर्नुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने आफुहरुको सपना रहेको बताउनुभयो । महानगरको मापदण्ड पुरा गर्न प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यबहाक मुख्यमन्त्री श्रेष्ठले बालमैत्री घोषणालाई घोषणामा मात्र नभई व्यवहारमा पनि कार्यान्वयन गर्न वडा समितिलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्नुभयो ।


घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये हेटौंडा उपमहानगरपालिकाले ४३ सूचकमा सतप्रतिशत नतिजा प्राप्त गरेको नगर उपप्रमुख राजेश बानिंयाले बताउनुभयो । १९ वटा वडा रहेको यस उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । उपमहानगरलाई बालमैत्री घोषणा पश्चात् दिगोपनाको लागि नगरस्तरीय पञ्चवर्षीय रणनीतिक योजना समेत तयार पारिएको उपप्रमुख बानिंयाले दाबी गर्नुभयो ।
यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैंया गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*