किसानको हौसलालाई बढाउन प्रदेश सरकारले ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउने

मनिल महतो
२७ माघ २०८१, आईतवार १७:३१

२७ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले किसानको हौसलालाई बढाउन ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउने तयारी गरेको छ ।
राष्ट्रिय किसान आयोगले आइतबार हेटौंडामा आयोजना गरेको बहस कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले किसानहरुको लागि आगामी आर्थिक वर्षको कार्यक्रममा १४ अर्बको ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । उत्पादनमा आधारित भएर कृषकलाई अनुदान दिने उहाँले बताउनुभयो ।
यस कार्यक्रमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आवश्यकता र प्राथमिकताको आधारमा कृषकहरुलाई ५० करोड भन्दा माथि ऋणमा ब्याज अनुदान दिने सकिने मन्त्री श्रेष्ठको विश्वास छ । मन्त्री श्रेष्ठले सम्भाव्यता अध्ययनको आधारमा चितवन, मकवानपुर, काभ्रे, काठमाडौँ र सिन्धुलीमा स्मार्ट फार्म हाउस निर्माणको तयारीमा सरकार रहेको समेत बताउनुभयो ।


बहस कार्यक्रममा मन्त्री श्रेष्ठले तीन वटै तहको सरकारले कृषि क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जमिनलाई बाँझो हुन नदिई किसानलाई कृषि कर्ममा प्रेरित गर्न मन्त्रालय लागि पर्ने उहाँले दाबी गर्नुभयो ।
किसानको आँखामा सरकारले आशु देख्न नचाहेको समेत उहाँले स्पष्ट पार्नुभयो । यद्यपि सरकारले दिएको अनुदानलाई जिम्मेवारी पूर्ण ढंगले सदुपयोग गर्न पनि उहाँले किसानलाई आग्रह गर्नुभयो । किसानहरुको व्यवसायिक प्रवद्र्धनलाई सरकारले विशेष ध्यान दिने समेत उहाँले दोहो¥याउनुभयो ।


कार्यक्रममा किसानहरुले सरकारले दिने भनिएको अनुदान वास्तविक किसानले अझै पनि पाउन नसकेको गुनासो गरेका थिए । किसानहरुलाई परिचयपत्रको व्यवस्था पनि छिटो गर्न उनीहरुले आग्रह गरेका थिए । कार्यक्रममा आयोगका सदस्य टेकबहादुर बोगटीले किसानको हक, हित र सामाजिक सुरक्षाको सम्बन्धमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*