प्रदेश सरकारले खानेपानी सम्बन्धि ऐन ल्याउँदै छः मन्त्री खड्का

मनिल महतो
२५ माघ २०८१, शुक्रबार ११:५९

२५ माघ, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले प्रदेश सरकारले खानेपानी सम्बन्धि ऐन ल्याउन लागेको बताउनुभएको छ ।
उपभोक्ता समितिहरुलाई नियमनको लागि ऐन ल्याउन लागेको उहाँले बताउनुभयो । वाटर एड नेपालसँगको सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा शुक्रबार हेटौँडामा भएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्नुुहुँदै मन्त्री खड्काले संघीय सरकारले बनाएको ऐन संग नबाझिने गरी प्रदेश सरकारले ऐन बनाउने बताउनुभयो ।
ऐनको ड्राफ्ट अन्तिम चरणमा रहेको र प्रदेशसभाको चालु अधिवेशनमै ऐनलाई पेश गर्ने तयारीमा प्रदेश सरकार रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री खड्काले संघीयताको कार्यान्वयन पश्चात् प्रदेश सरकार मातहात आएका खानेपानी कार्यालयहरुको कार्ययोजनालाई व्यवस्थित गरिने समेत उल्लेख गर्नुभयो । उपभोक्ता समितिहरुलाई महासंघले पनि विधान बनाएर नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य भारती पाठकले जलवायु परिवर्तंनको प्रत्यक्ष असर महिलाहरुमा पर्न गएको बताउनुभयो । वन, वातावरण, जलको नजिकको सम्बन्ध भएपनि जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दै गएको उहाँले उल्लेख गर्नुभयो । त्यसको असर विशेष गरी ग्रामीण भेगका महिलाहरुमा परेको उहाँको भनाई छ ।


खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले देशभरमा ४३ हजार उपभोक्ता समिति रहेपनि महिलाले नेतृत्व गरेका समिति निकै न्यून मात्रामा रहेको बताउनुभयो । खानेपानी क्षेत्रमा प्रमुख उपस्थिती महिलाको रहने भएकाले नेतृत्व र निर्णायक तहमा पनि महिलाको सहभागिता सुनिश्चित हुनुपर्नेमा उहाँको जोड थियो ।
खानेपानी संस्थानका अध्यक्ष राजेन्द्र अर्याल, मन्त्रालयका सचिव मोहन कुमार शाक्य लगायतले नेतृत्व तहमा महिला सहभागिता बढ्दा समुदायमा सकारात्मक सोचको विकास हुनुको साथै योजना कार्यान्वयनमा पारदर्शिता देखिने धारणा राखेका थिए । ३३ प्रतिशतबाट बढाएर महिला सहभागिता ५० प्रतिशत पुराउन नीतिगत सुधार आवश्यक रहेकोमा सहभागीको जोड थियो । कार्यक्रममा बागमती प्रदेशका खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*