सञ्चारमाध्यमबाट प्रकाशन–प्रशारण हुने सामग्री समावेशी हुनुपर्नेमा जोड

स्वर्णिम खबर
२० माघ २०८१, आईतवार १८:५५

२० माघ, हेटौँडा । सञ्चारमाध्यमबाट प्रकाशन–प्रशारण हुने सामग्री समावेशी हुनुपर्नेमा दलित महिला अगुवाहरुले जोड दिएका छन् ।
समाजमा अझै पनि जातीय विभेद कायमै रहेको अवस्थामा सञ्चार माध्यमले यस्ता विषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने उनीहरुले बताएका हुन् । दलित महिला संघ फेडो मकवानपुरले आइतबार आयोजना गरेको सञ्चार माध्यममा दलित महिला, दलित समुदायका सवाल माथिको प्राथमिकता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले आम सञ्चारमाध्यमले सबै वर्ग समुदायको आवाज बोल्नुपर्ने धारणा राखेका हुन् ।
दलित समुदायका समस्यालाई बाहिर ल्याउन सञ्चार माध्यमहरुको ध्यान जानुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रमका बोल्दै दलित महिला वडा सदस्यहरुले समाजमा अहिले पनि कुनै न कुनै प्रकारको जातीय कायम रहेको धारणा राखेका थिए । वडा जनप्रतिनिधि चुनिएपनि दलित समुदायको शसक्तिकरणका लागि बजेट विनियोजन गराउन संघर्षै गर्नुपर्ने अवस्था रहेको उनीहले गुनासोे गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले विगतको भन्दा अहिले समाज परिष्कृत बन्दै गएको बताउनुभयो । दलित समुदायका मुद्धाहरु उजागर गर्न महासंघ सदैव प्रतिबद्ध रहने अध्यक्ष अधिकारीले बताउनुभयो । समाजको रुपान्तरण चाहेको गतिमा नहुने उहाँको धारणा थियो ।
२०५१ सालमा स्थापना भएको फेडो मकवानपुरले जातीय विभेद विरुद्ध विभिन्न अभियानका साथै दातृ निकायसँगको समन्वयमा दलित महिलालाई आर्थिक उपार्जनमा जोड्न बीउँपूजी समेत उपलब्ध गराउँदै आएको फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालले जानकारी दिनुभयो । दलित महिला संघ फेडोकी कार्यक्रम संयोजक विमला विश्वकर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै सहजीकरण गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई फेडोले बधाई तथा सम्मान समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*