इतिहासलाई बिर्सदा पर्यटकीय क्षेत्रहरुको संरक्षण हुन सकेनः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
१० माघ २०८१, बिहीबार १७:२०

१० माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण अझै पनि हुन नसकेको बताउनुभएको छ ।
बिहिबार ऐतिहासिक मकवानपुर गढीको २ सय ६२ औं बिजय उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले इतिहासलाई बिर्सदा पर्यटकीय क्षेत्रहरुको संरक्षण हुन नसकेको बताउनुभयो । उहाँले इतिहासका चिजहरूलाई कसरी बनाउने र प्रवद्र्धन गर्ने भन्ने विषयमा लाग्नुपर्ने बताउनुभयो । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका काम गर्नुपर्नेमा मुख्यमन्त्री लामाले जोड दिनुभयो ।
मुख्यमन्त्री लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण एवम् प्रवद्धनका लागि मास्टर प्लान बनाएर लैजानुपर्ने बताउनुभयो । गढीको महत्व आफुले बुझेको बताउनुहुँदै मुख्यमन्त्री लामाले आर्थिक मामिला मन्त्री हुँदा पनि यहाँको विकासका लागि सहयोग गरेको बताउनुभयो ।


मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, मध्यपृतना हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखबहादुर गणका गणपति निरन्जन धामी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी गाउँपालिकाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता थियो ।


राज्यमाथि आक्रमण गर्न आएका करीब २५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक वर्ष माघ १० गते विजय उत्सव मनाउँदै आएको छ । नेपाल सरकारले देशका एक सय वटा महत्वपूर्ण गन्तव्य भित्र मकवानपरगढीलाई पनि समेटेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*