हेटौंडामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु

स्वर्णिम खबर
९ माघ २०८१, बुधबार १६:५९

९ माघ, हेटौँडा । हेटौंडामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु भएको छ ।
‘मानसिक स्वास्थ्यको ख्याल गरौँ’ भन्ने नाराका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ह्यूम्यान नेपाल धनगढीले बुधबारदेखि मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु गरेको हो । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट छनौट भएर आएका १५ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले युवा पुस्तामा मानसिक समस्या धेरै देखिने गरेको बताउनुभयो । युवा पुस्तामा धैर्यताको कमीका साथै हरेक कुरामा तुरुन्तै नतिजा खोज्ने प्रवृति बढीरहेकोले उनीहरुलाई परामर्शको विशेष आवश्यक रहेको उहाँको भनाई छ । मन्त्री खड्गीले मानसिक स्वास्थ्य प्रर्वद्धन तथा मानसिक स्वास्थ्य समस्या न्यूनिकरणका लागी प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो ।


ह्यूम्यान नेपालका अध्यक्ष उमेश सिवाकोटीले मानसिक समस्याबाट गुज्रीरहेकाहरुलाई मनोविमर्श सेवा मार्फत् समस्या समाधानमा मनोसामाजिक मनोविमर्शकर्ताले प्रभावकारी भूमिका खेल्ने अपेक्षाका साथ तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा प्रमुख प्रशिक्षक विनोद पौडेल र मोनिका खड्काले सहजीकरण गर्ने बताइएको छ । ६ महिनासम्म चल्ने तालिम ३ वटा मोडलमा सञ्चालन गरिनेछ ।
तालिमका लागि सामाजिक विकास मन्त्रालयले १८ लाख ५० हजार बजेट छुट्याएको छ । गत वर्षपनि प्रदेशका १५ जना महिलाले यो तालिम लिएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, जनस्वास्थ्य प्रमुख भोला चौंलागाईले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गर्नुभएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*