जिल्ला प्रशासन कार्यालय मकवानपुरको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

स्वर्णिम खबर
७ माघ २०८१, सोमबार १७:४६

७ माघ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्त सम्मको अवधिमा सम्पन्न गरेका काम कारवाहीको विषयमा जानकारी गराएको हो । ६ महिनाको अवधिमा द्धन्द्धपीडितहरुको नामावली अद्यावधिक गरि १२ जना घाइते तथा अपांगता भएका व्यक्तिलाई जम्मा ४ लाख ५५ हजार चार सय जीवन निर्वाह भत्ता उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी गराउनुभयो ।
गतवर्षबाट जिम्मेवारी सरेर आएका ८७ दशमलव ५७ प्रतिशत र यस आर्थिक वर्षको ७५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । चालू आर्थिक वषको हालसम्म राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट ११ हजार राष्ट्रिय परिचय पत्र कार्ड छापिएर आएकोमा ७ हजार ५ सय ९० वटा वितरण गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै यस अवधिमा ५ हजार ५ सय ९० जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । ४ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने १३ जना गैरआवासियले नागरिकता पाएका छन् । कार्यालयले ३९ पटक बजार अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ ।


असोज ११ र १२ गतेको विपद्बाट प्रभावितलाई हालसम्म ४३ लाख ४० हजार राहत प्रदान गरिनुका साथै संकटग्रस्त क्षेत्र घोषणा भएका इन्द्रसरोवर गाउँपालिकाको लागि ७५ लाख, बकैया र भीमफेदीको लागि ५०÷५० लाख राहत तथा पुर्नस्थापनाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित समितिलाई प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सम्मान तथा बधाईज्ञापन गर्नुभएको थियो । जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कार्यालयले एकीकृत सुरक्षा योजना र क्षेत्रगत विशेष सुरक्षा योजना तर्जुमा गरि शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*