हेटौंडामा व्यवस्थित बस्ती विकासको बलियो सम्भावना छः नगर उपप्रमुख बानिंया

स्वर्णिम खबर
४ माघ २०८१, शुक्रबार १९:०१

४ माघ, हेटौँडा । नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा शुक्रबार हेटौंडामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभापतित्व एवम् हेटौंडा महानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगर उपप्रमुख बानियाँले रियल इस्टेट व्यवसायीहरुको कामलाई सरकारी निकायहरुले सहजरुपमा निकाश दिन नसकेका कारण घरजग्गा व्यवसायीहरुको जिल्ला संघ हुँदै महासंघ जन्मेको बताउनुभयो ।
उहाँले हेटौंडामा व्यवस्थित बस्ती विकासको बलियो सम्भावना रहेको समेत जिकिर गर्नुभयो । हेटौंडामा लगानीको सुनिश्चितता गर्न र स्थानीय निकायबाट गर्नुपर्ने जुनसुकै सहयोग गर्न उपमहानगर प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।


त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै महासंघका अध्यक्ष घिमिरेले हेटौंडामा सडक विस्तारको विषयमा स्पष्ट धारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । हेटौंडाको मुख्य बजारमा रहेका भौतिक संरचनाहरु कमजोर रहेको उहाँले बताउनुभयो । अध्यक्ष घिमिरेले हेटौंडालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विदुर धमला र उपाध्यक्ष दिपक कुँवरले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
महासंघ तीनवटै सरकारसंग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउँदै रियल इस्टेट व्यवसायलाई सम्मानित तथा मर्यादित बनाउनुपर्नेमा उहाँहरुको जोड थियो । कार्यक्रममा महासंघको सदस्यता लिने कम्पनीहरुलाई प्रमाणपत्र गरिएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*