राष्ट्रको समृद्धि बालबालिकामा गरिएको लगानीमा निर्भर रहन्छः नगर प्रमुख लामा
२ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले बालबालिकाको क्षेत्रमा उपमहानगरले लगानी गरिरहेको बताउनुभएको छ ।
१२ नं. वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा बोल्नुहुँदै उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत पूर्वाधारको क्षेत्रलाई उच्च प्राथमिकतामा राखी उपमहानगरले लगानी गरिरहेको बताउनुभयो । बाल अधिकारको सुनिश्चित गर्न उपमहानगर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
नगर प्रमुख लामाले आजको बालबालिका नै राष्ट्रको भविष्य भएको उल्लेख गर्नुभयो । राष्ट्रको समृद्धि र सफलता बालबालिकामा गरिएको लगानीमा भर पर्ने समेत उहाँले बताउनुभयो । नगर प्रमुख लामाले बालमैत्री घोषणाबाट उत्पन्न चुनौती र अवसरलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडागत प्रतिवेदन प्रस्तुत गर्नुहुँदै वडा सदस्य महेश भट्टराईले आवश्यक ५१ वटा सुचक मध्ये ४७ वटा सुचकमा शतप्रतिशत नतिजा प्राप्त भएको बताउनुभयो । घोषणा समारोहमा विभिन्न क्षेत्रबाट वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याएको भन्दै हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, माइती नेपाल मकवानपुर,मामाघर नेपाल लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्षहरु , विभिन्न संघसंस्थाका प्रतिनिधि, बाल समुहका अध्यक्ष, विद्यार्थी, स्काउट, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अघि हेटौंडा–१२, सिग्रेनी सोल्टीचोकबाट ¥याली आयोजना गर्दै बुद्ध माध्यमिक विद्यालयमा पुगेर समापन भएको थियो ।














