मौलिक पहिचान बोकेका चाडपर्वहरु खुसी जीवनका आधार हुन्ः प्रदेश प्रमुख देवकोटा
१ माघ, हेटौँडा । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
मंगलबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले बिशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्वहरु खुसी जीवनका आधार भएको बताउनुभयो ।
पर्वहरूले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले बिशिष्ट पहिचान बोकेका चाडपर्वहरुले संरक्षण र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभकामना सन्देश मार्फत् उहाँले आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धिको मार्गमा अघि बढ्नको लागि पर्वले प्रेरणा प्राप्त होस् भन्नु भएको छ ।
यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरि घ्यू, चाकु, तीलको लड्ड, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । आजदेखी उत्तरायण आरम्भ हुने गर्दछ ।













