पुस १३ गतेदेखि हेटौंडामा सडक खाना महोत्सव हुने
४ पुस, हेटौँडा । होटल एसोसियसन अफ मकवानपुरले पुस १३ गतेदखि चार दिन ११ औं सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पारेर पुस १३ गतेदेखि १६ गतेसम्म सडक खाना महोत्सव आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसोसियसनका निवर्तमान अध्यक्ष एवम् महोत्सवका संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिनुभयो । सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ आयोजना हुने महोत्सव हेटौँडा ४ हुप्रचौर खेल मैदान देखि पुर्वको पट्टिको उत्तर दक्षिण सडकमा हुने संयोजक श्रेष्ठले बताउनुभयो ।
विभिन्न परिकारका खानाको साथै स्थानीय कलाकारको नृत्य सहित मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । विगत १० वर्षदेखि महोत्सव गर्दै आएको एशोसिएसनले यस वर्षको महोत्सवमा करीब ५० वटा स्टल रहने र प्रति स्टल चार दिनको १० हजार शुल्क तोकिएको जनाएको छ । महोत्सवमा ६० देखि ७० लाखको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
महोत्सवको अवलोकनका लागि स्थानिय र छिमेकी जिल्लाबाट समेत गरि ३० देखि ४० लाख अवलोकन कर्ताको उपस्थिति रहने अनुमान गरिएको छ । महोत्सव आयोजनाको लागि १४ लाख ५० हजार लागत लाग्ने आयोजकले जनाएको छ ।
एशोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एशोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्मा, निर्वतमान अध्यक्ष शंकरलाल श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष एंव एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो । एशोसिएसनले पत्रकार सम्मेलनकै अवसरमा पत्रकार महासंघ मकवानपुर शाखामा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत सम्मान गरेको थियो ।













