सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न जरुरी छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२१ मंसिर २०८१, शुक्रबार १७:२३

२१ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।
सामुदायिक विद्यालयलाई तीन वटै तहको सरकारको सहयोग रहँदा पनि शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर हुनु विडम्बना रहेको उहाँले बताउनुभयो । हेटौंडा १ स्थित अमर माध्यमिक विद्यालयको शुक्रबार भएको ३२ औं अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नुपर्छ भन्ने मान्यता प्रदेश सरकारको रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री लामाले परम्परागत शैक्षिक प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । रोजगारमूलक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्ने उहाँको भनाई थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक मालती उप्रेतीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भेलामा अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने रामकुमार वर्तौला, जानकी गिरी र भक्ति सुवेदीलाई सम्मान गरिएको थियो ।
साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेलने विषयगत शिक्षक, उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । २०३५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ६ सय ४९ जना विद्यार्थी अध्ययनरत छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*