बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले प्रति परिवार १ लाख उपलब्ध गराउने

स्वर्णिम खबर
१४ आश्विन २०८१, सोमबार १८:११

१४ असोज, हेटौँडा । बागमती प्रदेश सरकारले बाढी पहिरोमा परि मृत्यु भएकाको परिवारलाई प्रति परिवार एक लाख राहत रकम उपलब्ध गराउने भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मृतकका परिवारलाई तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्बाट प्रभावित प्रदेशका १३ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोष मार्फत् कुल दुई करोड ३० लाख राहत रकम पठाउने निर्णय गरेको छ । विपद्बाट सबैभन्दा बढी क्षति पुगेको काभ्रेपलाञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुरलाई ३० लाख, काठमाडौं र सिन्धुपाल्चोकलाई २०÷२० लाख दिने निर्णय भएको छ । त्यस्तै, दोलखा, रामेछाप, मकवानपुर, सिन्धुली र भक्तपुर जिल्लालाई दश÷दश लाख पठाउने निर्णय भएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
राहत रकम प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश विपत् व्यवस्थापन कोष मार्फत् सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिनेछ । त्यस्तै, खोज, उद्धार तथा प्रतिकार्यका लागि प्रति जिल्ला पाँच÷पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
जिल्ला प्रशासन कार्यालयहरुबाट थप रकम माग भई आए तत्काल मन्त्रालयबाट थप रकम उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । बैठकले प्रदेश मातहतका सडकहरु तत्काल मर्मत गर्ने र संघीय अधिकार क्षेत्रका सडक निर्माणका लागि संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*