पहिरोमा परी एन्फा एकेडेमीका बेपत्ता ६ जनाकै शव फेला
१२ असोज, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जनाकै शव भेटिएको छ ।
मृत्यु हुनेमा मकवानपुरका अनुपम घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेका छन् । मृतक घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् । मृतक सबैको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले बताउनुभयो ।
कुलेखानी जलबिद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिबार विहान जलाशयको २ वटै ढोका खोलीएपछि बिद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पु्रिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनुभयो ।
सुरक्षित रहेका ३४ जनालाई भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजान थालिएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।