गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न सकेनः सभामुख घिमिरे

मनिल महतो
१० श्रावण २०८१, बिहीबार १६:२४

१० श्रावण, हेटौँडा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान समयमा युवामैत्री सरकार आवश्यक रहेको बताउनुभएको छ ।
हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले मुलुकमा युवामैत्री नीति निर्माण मुख्य चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले राष्ट्र निर्माणको लागि सरकार र युवाशक्तिबीच नजिकको सम्बन्ध हुनुपर्ने उल्लेख गर्नुभयो । गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उहाँको भनाइ छ । सभामुख घिमिरेले युवाहरुको शक्ति र क्षमतालाई बृद्धि गर्न नेतृत्वकर्ताहरु चुकेको बताउनुभयो । उहाँले चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक उल्लेख गर्नुभयो ।


त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले युवाहरुको आशाको रुपमा कांग्रेस र एमालेको सरकार बनेको बताउनुभयो । वर्तमान सरकारलाई असफल हुने छुट नरहेको उहाँको भनाई छ । मुख्य सचेतक बर्तौलाले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा जोडेर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय कार्यभार पुरा केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढेको बताउनुभयो ।
बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०८०–८१ मा टेलरिङ्ग, फेसन डिजाइनर, ब्यूटिसियन, मन्टेश्वरी लगायतका २१ प्रकारका आधारभूत तालिम प्रदान गरेको थियो । परिषद्ले प्रदेशका १३ वटै जिल्लामा ५ हजार युवालाई तालिम प्रदान गरेको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो । बिहीबार चितवन, मकवानपुर र सिन्धुलीमा दिइएको तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गरिएको हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*