मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

स्वर्णिम खबर
२७ बैशाख २०८१, बिहीबार १९:२०

२७ वैशाख, हेटौँडा । स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का विषयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सुनुवाई कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी स्थानीय वासिन्दाहरुले अब हुने गरेका विपद्बाट जोगाउनका लागि बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका छन् । मकवानपुरगढीमा शिवम् सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावि रुपमा उत्खनन् गरेका कारण पनि बाढी पहिरोका घटना बढ्दै गएको स्थानीयहरुको गुनासो छ । बिशेषगरी मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा निकै चट्याङका घटना हुने गरेको सहभागीहरुले बताएका थिए ।


सुनुवाई कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगालागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख रहेको बताउनुभयो । अहिलेको अवस्थामा दैवि प्रकोपबाट जोगाउने विषयमा बेवास्ता बढेकोले चुनौति बढेको उहाँले बताउनुभयो ।
यस्तै वन तथा वातावरण मन्त्री केशब प्रसाद पोख्रेलले विपद्बाट बचाउँदै जिउधनको सुरक्षा गर्ने काम जनप्रतिनिधिको रहेको बताउनुभयो । आगालागी नियन्त्रणको लागि पूर्वतयारी आवश्यक भएको आभाष हामीले पनि गरेको मन्त्री पोख्रेलले बताउनुभयो ।


जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सांसद्हरु, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाई सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*