मन्त्री पोखरेलको ७८ बुँदे भावी कार्यदिशा तथा प्रतिबद्धता सार्वजनिक

स्वर्णिम खबर
२१ बैशाख २०८१, शुक्रबार १८:१३

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले भावी कार्यदिशा तथा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले ७८ बुँदेमा आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । मन्त्री पोखरेलले प्रतिबद्धतामा प्रदेशमा बाँदर नियन्त्रण गर्नेदेखि स्वदेशी काठ प्रयोग गरिनेसम्म उल्लेख गर्नुभएको छ । उहाँले स्थानीय तहसँगको सहकार्यमा घरको नक्शा पास गर्दा नै ‘एक घर एक बिरुवा रोपण कार्यक्रम’ सञ्चालन गरिने बताउनुभयो । प्रदेशका सबै जिल्लामा वन पैदावारको सहज आपूर्तिको लागि जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । विकास कार्यमा विनियोजन हुने बजेटको निश्चित प्रतिशत रकम वातावरण संरक्षण कार्यमा छुट्याउने नीतिगत व्यवस्था गर्न पहल गरिने समेत उहाँले बताउनुभयो ।
मन्त्री पोखरेलले बन्यजन्तुबाट कृषि बालीमा हुने हानी नोक्सानी कम गर्न विशेष कार्यक्रम ल्याउने पनि बताउनुभयो । जनताका घर आँगनमा हरियाली कायम गर्न हरियाली घर–आँगन कार्यक्रमलाई विस्तार गरिने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले काठको गुणस्तर वृद्धि र दिगो सदुपयोगका निम्ति काष्ठ सिजनिङ्ग प्लान्ट सञ्चालन गरिने उल्लेख गर्नुभयो । बन डढलो नियन्त्रण कार्यमा मृत्यु हुने र क्षति भोगेका हरुलाई प्रदेश विपद् व्यवस्थापन मार्फत क्षतिपुर्ती उपलब्ध गराइने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । वन डढेलो लगाउँने कार्यमा संलग्न व्यक्तिहरुलाई सुरक्षा संयन्त्र परिचालन गरी कारवाहीको दायरमा ल्याइने समेत उहाँले बताउनुभयो ।
मन्त्री पोखरेलले वन क्षेत्रको भोगाधिकार पाएका निकायहरुको तथ्याङ्क अध्यावधिक गरी सम्झौताका शर्तहरु र वातावरणीय अध्ययन प्रतिवेदन अनुसार पुरा गर्ने दायित्वको अनुगमन गर्ने र पालना नभएको पाइएमा कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*