१७ बुँदे मागसहित मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई ज्ञापनपत्र पेश
९ वैशाख, हेटौँडा । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले विभिन्न १७ बुँदे मागसहित बागमती प्रदेशको मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
मार्चाका अध्यक्ष दिलीप महर्जन र महासचिव एवम् प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो । मोर्चाका महासचिव श्रेष्ठले देश संघीयतामा गइसक्दा समेत नेवारी समुदायको भाषा, कला, साहित्यको लोप हुँदै जानु दुःखद भएको बताउनुभयो । नेवारी संस्कृति र सम्पदालाई झल्काउने घर निर्माण गर्नेहरुलाई सरकारले प्रोत्साहन स्वरुप अनुदान दिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । विविध कारणले लोप हुने अवस्थामा पुगेको परम्परागत ज्ञान, प्रविधि, संस्कृतिको संरक्षण गर्न मुख्यमन्त्री नेवाः सम्पदा, भाषा तथा संस्कृति संरक्षण कोषको व्यवस्था गर्नुपर्ने विषयमा केन्द्रित रहेर नै आफुहरुले ज्ञापनपत्र बुझाएको महासचिव श्रेष्ठले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री बज्राचार्यले विगत देखि नै आफु यस समस्यासंग जानकार रहेको बताउनुभयो । उहाँले मोर्चाको माग प्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले अधिकार प्राप्त गर्ने निहुँमा अरु समुदायलाई थिचोमिचो गर्न नमल्निे उल्लेख गर्नुभयो ।
त्यसैगरी मुख्यमन्त्री जम्कट्टेलले ऐन नै बनाएर भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभयो । भदौ महिनाभित्र संसद्बाट पारित गर्ने गरी कला, संस्कृतिको संरक्षण सम्बन्धी ऐन निर्माण गर्न मुख्यमन्त्री जम्कट्टेलले मन्त्री बज्राचार्यलाई निर्देशन समेत दिनुभयो । मोर्चाले उठाएका केही मागलाई भाषा विधेयकले पनि सम्बोधन गरेको उहाँको भनाई छ । संघीयतालाई कार्यान्वयन गर्ने सवालमा भाषा विधेयक एउटा महत्वपूर्ण पक्ष भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
त्यस्तै नेवारी समुदायको परम्परागत ज्ञान, प्रविधि, कला उत्पादनलाई रोजगारीसंग जोड्ने कार्यक्रमहरु सञ्चालन गर्न पनि मोर्चाले माग गरेको छ ।













