पञ्चायत शैलीमा काम गर्ने तरिकालाई अब बदल्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल

मनिल महतो
२८ चैत्र २०८०, बुधबार १७:२४

२८ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले काम गर्ने पुरानो शैलीले वर्तमान आवश्यकता पुरा नहुने बताउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले अब काम गर्ने शैली बदल्नुपर्नेमा जोड दिनुभयो । बुधबार हेटौंडामा भएको संघीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले समयको माग आवश्यकतामा आधारित काम गर्नुपर्ने भएपनि काम गर्ने शैली पञ्चायत कालको नै भएको जिकिर गर्नुभयो । उहाँले राज्यको लगानी प्रतिफल नदिने क्षेत्रमा प्रयोग गर्न नहुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले ५ वर्षमा खाद्यान्नमा आत्मनिर्भर हुने गरी प्रदेश सरकारले नीति बनाएको दाबी समेत गर्नुभयो । सरकारको नेतृत्व परिवर्तन भएपनि सबैले निराशा नभई उत्साहित ढंगले नै काम गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।


यसैगरी मुख्यमन्त्री जम्कट्टेलले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो । उहाँले अब ढुंगा, गिटी, बालुवाको कर प्रदेश सरकारले नलिने पनि स्पष्ट पार्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले समन्वय समितिलाई नीतिमा काम गर्ने निकायको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिले बनाउने ऐनहरुमा प्रदेश सरकार बाधक नबन्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।


यस्तै कार्यशाला गोष्ठीमा बोल्नुहुँदै जिल्ला समन्वय समिति महासंघका महासचिव अशोककुमार घिमिरे र उपमहासचिव दिपक गौतमले समन्वय समितिले प्रभावकारी ढंगले काम गर्ने वातावरण हुनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिसस महासंघ बागमती प्रदेश अध्यक्ष ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अन्तर्गतका जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुखहरुको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*