प्राथमिकताका आधारमा कार्यान्वयन हुने योजना छनौट गरौंः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
२७ चैत्र २०८०, मंगलवार २०:५३

२७ चैत्र, हेटौँडा । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाईमन्त्री एकालाल श्रेष्ठले जिल्लाबाट योजनाहरु छनौट गर्दा प्राथमिकताको आधारमा छनौट गर्न मातहतका डिभिजन कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मंगलबार मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को हालसम्म भएका कामहरुको समिक्षा कार्यक्रममा सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले विगतमा योजना छनौट गलत ढंगले हुँदा अहिले योजना कार्यान्वयनको चरणमा समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले आगामी वर्षको योजना मातहतका कार्यालयबाट सिफारिस भएका योजनाहरु समावेश हुने प्रतिबद्धता जनाउदै प्राथमिकताका आधारमा योजना सिफारिस गर्न निर्देशन दिनुभयो ।
यसैगरी प्रदेश सरकारबाट स्वीकृत भएका बहुवर्षीय योजनामा र कार्यान्वयन भईरहेका क्रमागत योजनामा प्रयाप्त बजेट विनियोजन नभएको कारण कार्यान्वयनमा समस्या भएको र कार्यान्वयन भएका योजनाको भुक्तानी गर्न नसकी थप दायित्व सिर्जना भएको अवस्था रहेको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले सो समस्या समाधानको लागि मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीसँग छलफल गरी निकासको वातावरण बनाउन सक्रिय पहल गर्ने बताउनुभयो ।
योजना निर्माणको लागि प्रदेश सरकारबाट २६ वटा स्थानिय तहमा ५ करोड २५ लाख बजेट विनियोजन भएतापनि निर्माणको कार्याविधिको अभावमा कार्यान्वयनमा समस्या भएको भनी गुनासो प्राप्त भएकोले सोको कार्यविधि निर्माण गरी स्वीकृतीको लागि अघि बढाईने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले कार्यालयलाई प्राप्त बजेटको सिलिङ बमोजिम प्राथमिकताको आधारमा योजना छनौट गरी मन्त्रालयमा सिफारिस गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिब इन्द्रदेव भट्ट लगायतकाले समापन कार्यक्रमका अवसरमा १३ वटै जिल्लाका कर्मचारीहरुलाई छिटो छरितो रुपमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
मन्त्रालय मातहतका ५ वटा खानेपानी डिभिजन कार्यालय र १६ वटा सिंचाई कार्यालय गरि कुल २१ वटा कार्यालयहरुले आआफ्नो जिल्ला कार्यालयको प्रगति विवरण र कार्यगत समस्या प्रस्तुत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*