संघीयताको प्रभावकारी कार्यान्वयनको निम्ति प्रदेश व्यवस्थित हुनुपर्छः प्रमुख घलान

स्वर्णिम खबर
१२ चैत्र २०८०, सोमबार १८:०९

१२ चैत्र, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले संघीयताको प्रभावकारी कार्यान्वयनको निम्ति प्रदेश व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशको स्थापना दिवसको समारोहमा सम्बोधन गर्नुहुँदै प्रमुख घलानले प्रदेश बलियो भएमात्र संविधानले प्रदान गरेका अधिकारहरु संस्थागत हुने जिकिर गर्नुभयो । उहाँले स्थानीय तह जस्तै प्रदेशलाई पनि स्थायित्व दिन जरुरी रहेको उल्लेख गर्नुभयो । संविधानलाई परिवर्तन गर्ने भन्दा पनि गुण र दोषको आधारमा बहस गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख घलानले प्रदेश सरकारले निर्माण गरेका ऐन, कानुनहरुलाई व्यवस्थित गर्ने सवालमा पनि मुख्य न्यायाधिवक्ताको कार्यालयको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश सरकारलाई असर गर्ने मुद्धाहरुमा आफुले सफलता प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले प्रदेश मातहत कारागार नहुँदा प्यारोल बोर्डले काम गर्न नसकेको स्वीकार गर्नुभयो । बोर्डले काम गर्ने वातावरण बन्ने हो भने परम्परागत दण्ड प्रणालीको सट्टा सुधारात्मक प्रणाली विकास हुने उहाँले अपेक्षा गर्नुभयो ।


स्थापना दिवसको अवसरमा कार्यालयले आयोजना गरेको निबन्ध प्रतियोगितामा सुर्खेतका ओमप्रकाश चालिसे प्रथम हुनुभएको छ । प्रथम हुनुभएका चालिसेलाई सोमबार आयोजित स्थापना दिवसको कार्यक्रममा नगद दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा बारा सिम्रनगढका रितिक यादव दोस्रो तथा सर्लाहीका कृष्णध्वज बस्नेत तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद ७ हजार र ५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा बैतडीका बासुदेव नाथ र पर्वतकी शुभेच्छा पन्तको निबन्धले सान्तवना स्थान हासिल गरेका छन् । उनीहरुलाई जनही नगद ४ हजार प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*