महिला सहभागिता विषयक समूह बहस कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
४ चैत्र २०८०, आईतवार १९:०८

४ चैत्र, हेटौँडा । पर्यटन, कृषि, लघु उद्यम, पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रमा महिला सहभागिता विषयक समूह बहस कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा जारी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी अन्तर्गत भएको वहस कार्यक्रममा सहभागी वक्ताहरुले मुलुकको आर्थिक तथा सामाजिक समृद्धिको लागि समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा नेपाल सरकारकी पूर्व उपसचिव महेश्वरी विष्टले आफ्नो जागिरे जीवनको संघर्ष, महिला भएकै कारण भोग्नु परेका समस्या लगायतको बारेमा अनुभव सुनाउनुभएको थियो । तत्कालिन समाजले महिला सहभागिता माथि नै प्रश्न उठाउने गरेको स्मरण गर्दै पूर्व उपसचिव विष्टले अधिकार प्राप्तीको लागि महिलाले थुप्रै लडाई लड्नुपरेको बताउनुभयो ।
त्यस्तै अधिवक्ता शान्ती मोक्तानले नीति निर्माण लगायत निर्णयक तहमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । बैंकर अन्जली श्रेष्ठले उद्यमशीलता विकासमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकारले महिला सशक्तीकरणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्नुभयो ।
चैत्र ६ गतेसम्म चल्ने प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*