हेटौंडामा केन्द्रीय मानन्धर संघको साँस्कृतिक कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१९ फाल्गुन २०८०, शनिबार १८:१५

१९ फागुन, हेटौँडा । केन्द्रीय मानन्धर संघले शनिबार हेटौंडामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं महानगरपालिकाको लागत साझेदारी, संघको युवा र सञ्चार उपसमितिको संयोजन तथा हेटौंडाका मानन्धर गुठीहरुसँगको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्य तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय अध्यक्ष मनोजकुमार मानन्धरको सभाध्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जाति, भाषा र संस्कृति प्रदेशसँगै देशकै सम्पत्ति भएकाले संरक्षण र प्रबर्द्धनमा सबैपक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । नेपाल भाषामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको गौरबको रुपमा रहेको नेपाल भाषा, नेवार संस्कृतिसँगै नेपाल सम्बत महत्वपूर्ण रहेकाले दैनिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संघीयताको बारेमा नकारात्मक धारणा फैलाईएको भन्दै राजनीतिक, भाषिक, साँस्कृतिक अधिकार पाउन संघीयताले महत्त्वपूर्ण भुमिका खेलिरहेको बताउनुभयो ।


यसैगरी बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेशमा नेवार र तामाङ समुदायको बाहुल्यता रहेकै कारण नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धी ऐनलाई प्रदेशसभाबाट पारित गरिएको बताउनुभयो । उहाँले नेपाल भाषा, संस्कृति जगेर्ना गर्न सरकार, नेवार समुदाय र संघसंस्थाहरु एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा मौलिक धिमे बाजा, धाः बाजा, बाँसुरी, बे बाजा, नाय् खिं बाजा, ढोलक बाजाको प्रस्तुतीसँगै नेवारी पहिरनमा नेपाल भाषाका गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि हेटौंडाको बुद्ध चोकमा भेला भई प्रभातफेरी गरि कार्यक्रम स्थल बालकुमारी पार्टी प्यालेसमा पुगी समापन गरिएको थियो ।


कार्यक्रममा नेपाल राष्ट्र बैंक विरगञ्जकी सहायक निर्देशक अमृता मानन्धर, वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका उपप्राध्यापक डा. विक्रम मानन्धर, विश्व साईकलयात्री रामचन्द्र मानन्धर, डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धर लगायतको आतिथ्य रहेको थियो ।
हेटौंडामा जस्तै साँस्कृतिक कार्यक्रम पर्साको विरगञ्ज र बारामा आयोजना गरिने नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय सदस्य केके मानन्धरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*