मुख्यमन्त्री सभाहल अलपत्र पर्ने निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता
९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका २ मा निर्माणाधिन मुख्यमन्त्री सभाहल अलपत्र पर्ने निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ ।
शहरी विकास तथा भवन कार्यालय मकवानपुरले संरक्षण निर्माण सेवा इन्जिनियरिङ कन्स्ट्रक्सन जेभी भरतपुरलाई भवन निर्माण जिम्मा दिएको थियो । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । तोकिएको समयमा काम गर्न सक्ने नदेखिएपछि निर्माण कम्पनीबाट ७५ लाख पेश्की रकम फिर्ता लिइएको कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिनुभयो ।

सम्झौताअनुसार २०७९ बैशाख महिनामा सभाहलको निर्माण गर्नुपर्ने थियो । सम्झौता अनुसार काम नहुँदा सभाहल निर्माणकार्य अलपत्र बनेको छ । हेटौँडा उपमहानगरपालिकाले सभाहल निर्माणका लागि अब प्रदेश सरकारलाई जग्गा उपलब्ध नगराउने बताएको छ । निर्माण कम्पनीले उपमहानगरपालिकाले स्थान नदिएको कारण निर्माण कार्य गर्न नसकिएको दाबी गर्दै आएको छ । यही कारणले निर्माण कम्पनीलाई कार्वाही गर्न समस्या भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो । ५ करोड २६ लाखमा सम्झौता भएको सभाहलको २० प्रतिशत मात्रै निर्माण कार्य भएको छ ।













