प्रधानमन्त्रीको स्पष्टोक्तिः सामाजिक सद्भाव खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध
२८ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटकमा प्रतिवन्ध लगाउनुपरेको बताउनुभएको छ ।
मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर नै टिकटक बन्द गर्नुपरेको स्पष्ट पार्नुभयो । टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको पनि प्रधानमन्त्री दाहालको भनाई थियो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताउनुभयो ।













