हेटौंडा १८ मा निर्मित ठूलो दमार प्रहरी चौकीको उद्घाटन
६ भाद्र, हेटौँडा । हेटौंडा १८ मा निर्मित ठूलो दमार प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार एक समारोहका बीच प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रहरी सेवालाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । प्रहरीले दिने सेवा प्रवाहलाई छिटो छरितो बनाउन प्रविधि मैत्री हुनु आवश्यक रहेको उहाँको भनाई थियो । हेटौडा १७ डिपो चौरमा बन्न लागेको प्रहरी अस्पताललाई बहुवर्षिय आयोजनाको रुपमा स्वीकृत गर्ने प्रदेश सरकारको तयारी रहेको जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बजेटको सिमितताका कारण चालु आर्थिक वर्षमा थप प्रहरी भवन निर्माणका लागि बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो ।
४ कठ्ठा ८.५ धुर क्षेत्रफलमा बनेको ठूलो दमार प्रहरी भवन निर्माणका लागी २ करोड ३५ लाख ८६ हजार खर्च भएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा लगाएतको उपस्थिती थियो ।













