नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको उद्घाटन
५ भाद्र, हेटौँडा । भरतपुरमा निर्माण भएको २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यी दुई आयोजनाको मंगलबार उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम बिजुली आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउनुहुँदै चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताउनुभयो ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।













