भैँसे–भीमफेदी सडक निर्माणको काममा तीव्रता
२६ असार, हेटौँडा । क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ ।
यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ । घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकोमा प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ । निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले सडकखण्डमा पर्ने वडा नं. ४ र ६ मा ऐलानी जग्गामा घर बनाएर बस्दै आएका २२ परिवारलाई राहत एवम् क्षतिपूर्ति बापत रकम प्रदान गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रकम भीमफेदी गाउँपालिकामा निकासा गरिएको जानकारी दिनुभयो । हालसम्म सडकखण्डको ११.५ किमी सडकको ६५ प्रतिशत काम सकिएको छ । क्षतिपूर्ति दिन बाँकी रहेको क्षेत्र बाहेक सडक चौडा गर्ने काम ९५ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि सडक स्तरोन्नतिको काम सुरु भएकोमा सडक निर्माणको म्याद पुनः आगामी चैत २३ सम्मका लागि थप गरिने भएको छ । निर्माण कम्पनीसँग उक्त सडकखण्ड ३८ करोड ७८ लाख रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको प्रवक्ता ओझाले बताउनुभयो ।













