कान्ति राजमार्गको लागि बजेटको अभाव हुँदैनः मन्त्री ज्वाला

स्वर्णिम खबर
२४ असार २०८०, आईतवार ११:५१

२४ असार, हेटौँडा । सरकारले कान्ति राजमार्गलाई व्यवस्थित ढंगले सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
काठमाडौं उपत्यकालाई तराई–मधेससँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रूपमा सञ्चालन एवं पुनः निर्माण कार्यले गति लिन सकेको छैन । हेटौंडादेखि ललितपुर सातदोबाटोसम्म रहेको यो राजमार्गको ट्रयाक २०१३ मै खोलिएको थियो । राजमार्गको विभिन्न ठाँउमा वर्षाको समयमा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरूद्ध भइरहेको छ । यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भने वैकल्पिक राजमार्गका रूपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थित रूपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने स्पष्ट पार्नुभयो । मन्त्री ज्वालाले अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेट थपेरै भएपनी राजमार्ग २४ सै घण्टा सुचारु गर्न पहल थाल्ने बताउनुभयो ।


कुल ७९ किलोमिटर लामो यो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनः निर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी रहेको कान्ति राजमार्ग सडक योजनाका प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो । राजमार्गको लागि आगामी आर्थिक वर्ष ६६ करोड माग गरिएकोमा सरकारले २४ करोड मात्रै विनियोजन गरेको बताउनुभयो ।
खासगरी वर्षातको समयमा यो राजमार्गलाई दीर्घकालीन रुपमा वैकल्पिक रुपमा प्रयोग गर्ने योजना सरकारको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*