बागमतीको १० जिल्लामा प्राकृतिक विपदबाट तीन आर्थिक वर्षमा १ सय ४७ मृत्यु
१४ असार, हेटौँडा । बागमती प्रदेशको १० जिल्लामा प्राकृतिक विपदबाट तीन आर्थिक वर्षमा १ सय ४७ को ज्यान गएको छ ।
चालू आर्थिक वर्ष २०७९÷८० को असार पहिलो सातासम्म प्राकृतिक विपद्बाट २२ जना, अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा २६ र २०७७÷७८ मा ९९ जनाको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० को हालसम्मको अवधिमा बिभिन्न प्राकृतिक बिपत्तिबाट १ सय ३६ जना घाइते र ५२ जना बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक रेग्मीले जानकारी दिनुभयो । यस अवधिमा तीन हजार ६२ परिवार पीडित भएका छन् । तीन आर्थिक वर्षको बीचमा १ अर्ब ५५ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

यस्तै बागमती प्रदेशको १० जिल्लामा बाढीबाट २ सय ५६, डुबानबाट ५६, कटानबाट ७४ र पहिरोबाट ४ सय ६० स्थान जोखिमयुक्त रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो वर्ष क्षति न्यूनीकरण र पूर्वतयारीका लागि भन्दै प्रदेश सरकारले विपद्को उच्च जोखिम रहेको स्थानमा १ करोड रुपैयाँ पठाएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । विपद् उद्धार तथा व्यवस्थापनका लागि प्रदेशभरका करिब एक हजार प्रहरीलाई चौबिसै घण्टा उच्च सतकर्ता र तयारी अवस्थामा राखिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रवक्ता रेग्मीले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समिति पनि सक्रिय रहेको बताउनुभयो ।













