बजेटमा लोकतन्त्र विरोधी प्रावधान छन्, सरकारले बजेट फिर्ता लिनुपर्छः महेश बर्तौला
२८ जेठ, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले संसदमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट फिर्ता लिन सरकारलाई दवाव दिनु भएको छ ।
सत्तारुढ दलहरु स्वयम् सन्तुष्ट नरहेकाले सो बजेट फिर्ता गरी सांसदहरुले दिएको सुझावको आधारमा सरकारले नयाँ बजेट ल्याउनुपर्ने उहाँको तर्क थियो । आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले बजेटमार्फत् सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने, किसानको हित विपरित राष्ट्रिय दुग्ध बोर्ड खारेज गर्ने निर्णय लिएको भन्दै आपत्ति समेत जनाउनु भयो । लोकतन्त्र विरोधी खालका प्रावधान बजेटमा भएकाले विरोध गर्नु परेको उहाँले स्पष्ट पार्नु भयो ।
सचेतक बर्तौलाले प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका केही नेतालाई केन्द्रित गरेर बजेट विनियोजन गरिएको आरोप लगाउँदै समर्थन गर्न नसकिने बताउनु भयो । उहाँले गरिब जनताको समस्यालाई बजेटले सम्बोधन गर्न नसक्ने समेत टिप्पणी गर्नुभयो ।
प्रतिपक्ष भएको हिसाबले सरकारको आलोचना गर्नै पर्ने पक्षमा आफुहरु नरहेको उहाँले स्पष्ट पार्नुभयो ।













