डम्पिङ साइट निर्माण गर्दैमा फोहोरमैलाको समस्या समाधान हुँदैनः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
२२ जेष्ठ २०८०, सोमबार १३:२२

२२ जेठ, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डम्पिङ साइट निर्माण गर्दैमा फोहोरमैलाको समस्या समाधान नहुने बताउनुभएको छ ।
५१ औं विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले फोहोरमैला थुर्पादैमा समाधान हुन्छ भन्ने विचार त्याग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले वातावरणलाई संरक्षण गर्न आफैँबाट सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सरसफाईको काममा स्थानीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो । घरबाट निस्कने फोहोरहरुलाई वर्गीकरण गरी कुहिने फोहोरलाई मल बनाउन र नकुहिने फोहोरलाई प्रशोधन गरी आयआर्जनको स्रोत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रम स्थलमा रहेका कृत्रिम फुलहरुलाई देखाउँदै मुख्यमन्त्री जम्कट्टेलले प्लाष्टिक जन्य वस्तुको प्रयोग नगर्न आग्रह गर्नुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले फोहोरमैलाको व्यवस्थापन गर्न संघ र प्रदेश सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । काठमाडौंको मेयरले फोहोर नउठाएको प्रसंग उल्लेख गर्दै मेयर लामाले हेटौंडामा पनि त्यस्तै स्थिति आउन नदिने वातावरण सिर्जना गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गर्नुभयो । मेयर लामाले फोहोर जलाउने मेसिन प्रदेश सरकारले उपलब्ध गराए उपमहानगर आफैं फोहोर व्यवस्थापन गर्न सक्षम रहेको बताउनुभयो ।


कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकाहरु लगायत उत्कृष्ट टोल विकास संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा टोल विकास संस्था दर्पण पुस्तिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पुर्याउने रामकृष्ण थापा र ज्ञान बहादुर थापालाई सम्मान गरिएको थियो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु एकालाल श्रेष्ठ, भारती पाठक, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतम लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । यसअघि टोल विकास संस्थाहरुले ¥याली समेत निकालेको थियो । हुप्राचौरबाट सुरु भएको ¥याली पारिजातपथ, कान्तिराजपथ, बुद्धचोक, सिमाचोक हुँदै रोयल पार्टी प्यालेशमा पुगेर सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*