प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई मधेस द्रुतमार्गको अवलोकन

स्वर्णिम खबर
५ बैशाख २०८०, मंगलवार १४:३३

५ वैशाख, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं—तराई मधेश द्रुर्तमार्गको अवलोकन गर्नुभएको छ ।
मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।


काठमाडौंबाट तराई मधेश जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो । तर, फास्ट ट्रयाक निर्माणको प्रगति ज्यादै न्यून छ । अहिलेसम्म द्रुतमार्गमा २२.४४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार अझै ११ मध्ये ४ वटा प्याकेजहरुमा ठेक्का लगाउन बाँकी छ । ८, ९, १० र ११ नम्बर प्याकेजको काम अघि बढाउन चालु आर्थिक वर्षको अन्त्यसम्म ठेक्का लगाइसक्ने उहाँले बताउनुभयो ।

ललितपुरको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२ दशमलव पाँच किलोमिटर छ । द्रुतमार्गमा महादेवडाँडा, धोद्रे र लेनडाँडामा करिब छ दशमलव ४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव ९ किमि, काठमाडौंमा ४, मकवानपुरमा ५३ र बारामा ७.६ किमी पर्छ ।


काठमाडौंलाई तराई मधेश हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि पाँच घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*