उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रको तार भुमिगत गर्ने
३० फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ ।
जथाभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ नं. वडाको केहि भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय भएको हो । तार व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारीस पत्र पठाउँने तयारी भएको उपमहानगरले जनाएको छ । बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि नगरका बिभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाएको छ । बजारसहित नगरका सबै वडालाई समेटेर लाइटको व्यवस्थापनका लाग्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । यसैगरी बैठकले सार्वजनिक पुर्वाधार सम्पत्ती संरक्षण, उपमहानगरको पाठ्क्रम निर्माण तथा कार्यान्वयन कार्यबिधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने , अनलाईन नक्सा पास गर्ने निर्णय समेत गरेको छ ।













