कान्तिलोकपथ बन्द, साना गाडी थानकोट–चित्लाङ हुँदै गुड्न थाले
१८ फागुन, हेटौँंडा । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण हेटौँडा जाने साना गाडी थानकोट–चित्लाङ हुँदै गुड्न थालेका छन् ।
काठमाण्डौको बल्खुबाट हेटौँडा तर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा बिहिबार बिहानैदेखि गाडी गुड्न थालेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाण्डौबाट कान्तिलोकपथ हुँदै हेटौँडातर्फ गाडी गुड्ने गरेको थियो । भीमफेदी–कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाण्डौतर्फ जाने गाडीलाई चित्लाङ–थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । सडक मर्मत गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । काठमाण्डौबाट हेटौँडातर्फ आउने साना गाडीलाई थानकोट–चित्लाङको बाटोबाट बिहिबार देखि आउँदो चैत्र १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डौतर्फ जाने गाडीलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ ।













