अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना
२८ मंसिर, काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् ।
सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । उनीहरुले अध्यादेश अविलम्व प्रमाणिकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेका बताउनुभयो । उहाँले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गर्नुभयो ।
उहाँले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले दोहोरो चरित्र देखाएको आरोप लगाउनु भयो । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले दोहोरो चरित्र प्रदर्शन गरेको बताउनु भयो ।
उहाँले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो ।













