सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन
२२ मंसिर, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताउनु भयो । उहाँले सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको उल्लेख गर्नुभयो । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताउनु भयो ।
उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताउनु भयो ।













