निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहीता जारी रहन्छः निर्वाचन आयोग
१८ मंसिर, हेटौँडा । निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता लागू हुने बताएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहीता लागू भएको र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पार्नुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहीता जारी रहने स्पष्ट पार्नुभयो । सहायक प्रवक्ता अर्यालले समानुपातिक निर्वाचनको अन्तिम परिणाम मतहरुको हिसाव गरेर दलहरुलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताउनुभयो । उहाँले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने स्पष्ट पार्नुभयो ।
सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताउनु भयो ।













