काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का
१५ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको छ ।
बिहीवार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवालाई नै सर्वसम्मत चयन गर्नुपर्ने बताउनुभयो । उहाँले देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताउनु भयो । उपसभापति खड्काले सत्ता गठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उपसभापति खड्काले अहिले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उहाँले उल्लेख गर्नुभयो । सहमतिमै सरकारको नेतृत्वको चयन हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताउनु भयो ।













