निर्वाचनमा आतंकको वातावरण सिर्जना गर्ने काम भयोः अध्यक्ष ओली
१३ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको बताउनुभएको छ ।
राष्ट्रिय जन सांस्कृतिक महासंघ, नेपालले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आतंकको वातावरण सृजना गरी सरकारले जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको आरोप लगाउनुभयो । बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताउनुभयो । उहाँले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटकपटक दोहो¥याउनु भयो ।
यसैगरी अध्यक्ष ओलीले अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी रवि लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै आलोचना गर्नु भएको हो । उहाँले संयोगनै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकीर गर्दै चिन्ता समेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले अर्काको नक्कल गर्ने खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताउनुभयो ।
ओलीले लामिछाने नेतृत्वको सो पार्टीलाई एक्काशी फुलेको बेलुनको रुपमा समेत चित्रण गर्नुभयो ।













