संसदीय दलको निर्वाचनको तयारी थाल्ने गगन थापाको उदघोष

स्वर्णिम खबर
६ मंसिर २०७९, मंगलवार १४:४३

६ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदाताहरुलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताउनुभएको हो । उहाँले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
उहाँले जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताउनु भयो । देश हाँक्ने नयाँ चालक नेपाली काँग्रेस पार्टीले मात्रै दिनसक्ने उहाँले बताउनु भयो । त्यसको लागि पार्टीभित्र छलफल शुरु भइसकेको उहाँको भनाई छ । प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै जनतालाई विश्वस्त बनाउने उहाँको भनाई छ ।
उहाँले यस निर्वाचनबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ सरकारले आम जनतालाई दिनप्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो । थापाले निर्वाचन परिणाम हेर्दा मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरु पूरा गर्ने संकल्प गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*