निर्वाचनको सम्पूर्ण तयारी पुराः निर्वाचन आयोग

स्वर्णिम खबर
३ मंसिर २०७९, शनिबार १७:३७

३ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले भोलि हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
शनिवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले स्थिर समयमा आचारसंहीताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको उल्लेख गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको बताउनु भयो ।
यसैगरी प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ । उहाँले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनैपनि निषेधित वस्तुहरु बोक्न नहुने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने चेतावनी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिरि निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*