निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षमः गृह मन्त्रालय
२ मंसिर, काठमाडौँ । गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको छ ।
गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहहरुलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो उहाँले मतदानलाई असर पर्ने खालका कुनैपनि गतिविधि हुन नदिइने पनि बताउनुभयो । गृहसचिव सिंहले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिका लगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनैपनि क्रियाकलाप सह्य नहुने उल्लेख गर्नुभयो । त्यस प्रकारका गतिविधिहरुलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उहाँले बताउनु भयो ।
गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराउनु भयो । निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्नेगरी काम गर्ने कर्मचारीहरुलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले कर्मचारीहरुलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुनेगरी क्रियाकलाप नगर्न निर्देशन दिनुभयो ।
गृहसचिव सिंहले मतपेटिकालाई मत गणनास्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पार्नुभयो ।













