निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था

स्वर्णिम खबर
१ मंसिर २०७९, बिहीबार १७:५५

१ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।
आयोगले बिहीवार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उहाँले उल्लेख गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले मतदान केन्द्रमा असर पु¥याउने खालका कुनैपनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक लगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरे कानूनी कारबाही गर्न निर्देशन दिएको बताउनु भयो ।
आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ । १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*