निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्वः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
१ मंसिर २०७९, बिहीबार ११:५३

१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
बिहिबार एक भिडियो सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको दाबी समेत गर्नुभयो । प्रधानमन्त्री देउवाले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताउनुभयो । २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने जिकिर समेत गर्नुभयो । उहाँले दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन गर्नुपरेको स्पष्ट समेत पार्नुभयो । प्रधानमन्त्री देउवाले आफूहरु कुरा होइन काम गर्छौं भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन सबैलाई अपिल समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मङ्सिर ४ गते निर्वाचनमा गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ कांग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह समेत गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*