निर्वाचनको तयारी अन्तिम चरणमाः प्रमुख निर्वाचन आयुक्त थपलिया
२५ कार्तिक, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिनुभयो । उहाँले मतदानको निम्ति मतपेटिका रुजु गर्दा ठिक भए÷नभएको र पर्याप्त भए÷नभएको यकीन गर्न आग्रह गर्नुभयो । उहाँले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो ।
यसैगरी प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन समेत दिनुभयो । उहाँले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो रहनुपर्ने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिनुभयो ।













