नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमाः राष्ट्रपति भण्डारी

स्वर्णिम खबर
२४ कार्तिक २०७९, बिहीबार १५:११

२४ कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई नेपालले अंगीकार गरेको बताउनुभयो । आईसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल वुमन पोलिटिकल लिडर्स् को कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भईरहेको बताउनु भयो । उहाँले महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौतिहरु सामना गर्ने सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा आफूले सम्मानित महसुस गरेको बताउनु भयो ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनिकरणका लागि स्रोत, साधन, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिका लागि छरितो तथा पारदर्शी संयन्त्र निर्माण गर्न पनि विश्व समूदायलाई आह्वान गर्नुभयो । नेपालको हरित गृह ग्याँस उत्सर्जनमा कुनै पनि भूमिका नरहेता पनि जलवायु परिवर्तनको असर भोग्नु परिरहेको भन्दै राष्ट्रपति भण्डारीले यसको प्रभाव न्यूनिकरणका लागि नेपालले उच्च प्रतिवद्धताका साथ काम गरिरहेको स्पष्ट पार्नु भयो ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको कारण लाखौं मानिसहरुको जीवन जोखिममा परेकाले त्यसको प्रभाव न्यूनिकरणमा सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*